बुधबार, ७ असोज, २०८३ (1789150500)
शनिबार भदौ २७, २०८३

 तीजको मुखैमा सल्लेरीको कपडा व्यापार सुस्तः बाढी, महँगी र अनलाइन खरिदले साडी बिक्री घटेको व्यापारीहरूको भनाई 

     सोलुखुम्बुः   सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित शनिबारे हाटबजारका कपडा तथा साडी व्यापारीहरूले यसपटकको हरितालिका तीजमा साडी, ब्लाउज लगायतका कपडाहरूको बिक्री अघिल्ला वर्षहरूको तुलनामा निकै घटेको बताएका छन्। गत भदौ १० गते रसुवामो भोटेकोशीमा गएको बाढीका कारण उत्पन्न दुःखद् परिस्थिति, महँगी र अनलाइन खरिदको बढ्दो प्रभावका कारण बजारमा तीजको चहलपहल घट्दा व्यापार प्रभावित भएको व्यापारीहरूको भनाइ छ।
    सल्लेरी नयाँ बजारकी व्यापारी लक्ष्मी देवीले अघिल्लो वर्षको तीजमा साडी र ब्लाउज किन्ने ग्राहकहरूको घुइँचो हुने गरे पनि यसपालि बिक्री न्यून रहेको बताउनुभयो। काठमाडौँबाट सामान ढुवानी गरेर ल्याउँदा कपडाको भाउ महँगो परेको र बाढीपहिरोका कारण उत्पन्न कठिनाइ तथा विपत्तिले गर्दा ग्राहकहरूले पुरानै दरमा सामान खोज्ने तर सो मूल्यमा दिन नसकिने अवस्था रहेको उहाँको भनाइ छ। देशमा धेरैले बाढीपहिरो र व्यक्तिगत दुःख झेलिरहेकाले सादगीका साथ तीज मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
   त्यस्तै, बसन्त बजारस्थित एन्जिल अर्डर सप्लायर्सका सञ्चालक विवेक कुमार दासले तीजको अवसरमा २० प्रतिशतसम्म छुटको व्यवस्था गर्दा पनि गत वर्षको तुलनामा साडी बिक्री कम भएको जानकारी दिनुभयो। महाबौद्ध, न्युरोड तथा विशाल बजारबाट नयाँ फेसनका सामानहरू छानेर ल्याए पनि बाढीपहिरोका कारण ढुवानीमा ढिलाइ र कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो। उपभोक्ताहरूले एउटै साडी पुनः प्रयोग गर्ने परिपाटी र मुलुकको असहज परिस्थितिका कारण साडीभन्दा ब्लाउज र पेटिकोटको बिक्री केही मात्रामा अडिएको उहाँको अनुभव छ।
   सोलुदुधकुण्ड नगरपालिका ६ की कपडा व्यापारी पार्वती मगरले तीजका लागि आवश्यक साडी, चुरा र शिरबन्दी जस्ता सामग्री ल्याए पनि बिक्री अघिल्लो वर्षभन्दा निकै कम रहेको बताउनुभयो। कपडा सहजै आइपुगे पनि विगतजस्तो तडकभडक, नाचगान र दर खाने कार्यक्रमहरू कम भएकाले बजार सुस्त बनेको उहाँको भनाइ छ।
   सल्लेरी ५ नयाँ बस्ती चोककी व्यापारी निरु कार्कीका अनुसार बाढीपहिरो र बढ्दो अनलाइन किनमेलका कारण यसपालि व्यापार करिब ३० प्रतिशतले घटेको छ । पहिले ल्याएका अधिकांश ब्लाउज तथा साडीहरू बिक्री हुने गरेकोमा यसपटक आधाभन्दा बढी सामान थन्किएको उहाँले बताउनुभयो। प्राकृतिक विपत्तिका कारण उत्पन्न दुःखद् घडीलाई ध्यानमा राख्दै सम्पूर्ण महिला दिदीबहिनीहरूलाई भड्किलो नगरी सामान्य र सादगी तरिकाले तीज पर्व मनाउन व्यापारीहरूले आग्रह गरेका छन्।