बुधबार, ७ असोज, २०८३ (1790014500)
मंगलबार असोज ६, २०८३

सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित

    सोलुखुम्बुः  सोलुखुम्बुमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले भदौ महिनामा ७० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममार्फत १ हजार २०५ जना चालक, पैदलयात्री, विद्यार्थी, शिक्षक तथा यातायात व्यवसायीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।
   प्रहरीका अनुसार चालक लक्षित ४० वटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ५४२ जना चालकलाई ट्राफिक नियम तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी जानकारी दिइएको छ। यस्तै, सडक प्रयोगकर्ता तथा पैदलयात्री लक्षित १४ वटा कार्यक्रममार्फत ३२६ जनालाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराइएको छ।
   विद्यालयमा दुई वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १२० जना विद्यार्थी तथा शिक्षकलाई ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी दिइएको छ। त्यस्तै, यातायात व्यवसायीसँग १४ वटा कार्यक्रम सञ्चालन गरी २१७ जना व्यवसायीलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिइएको प्रहरीले जनाएको छ।
    ट्राफिक नियमको प्रभावकारी पालना र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार सचेतना अभियान सञ्चालन गरिएको भदौ महिनाभरि सोलुखुम्बुमा कुनै पनि सवारी दुर्घटना भएको छैन।
   यसैबीच,सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा कारबाही समेत गरेको छ। सो अवधिमा ट्राफिक नियम उल्लङ्घनका विभिन्न कसुरमा कुल ७२ वटा सवारी साधन कारबाहीमा परेका छन्, जसबाट कुल ८७,००० रुपैयाँ राजस्व संकलन भएको छ।   
   प्राप्त विवरण अनुसार सबैभन्दा बढी सवारी चालक अनुमती पत्र नभएको १८ वटा सवारी साधन कारबाहीमा परी ३६ हजार रुपैयाँ राज्वश सकंलन भएको छ । त्यस्तै (सवारी साधन) नवीकरण÷कागजात’ सम्बन्धी कसुरमा १४ वटा सवारी साधनबाट १३,५०० रुपैयाँ राज्वश सकंलन गरिएको छ। यसैगरी अवस्था ठीक नभएका ७ वटा सवारी साधनबाट ४,५०० रुपैयाँ जरिवाना गरिएको छ।   
   त्यस्तै प्रयोग विपरीत सवारी चलाएका ४ वटा सवारी साधनबाट ८,००० रुपैयाँ, सवारी रोक्न निषेध गरिएको ठाउँमा रोकेका ३ वटा सवारी साधनबाट १,५०० रुपैयाँ, र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) साथमा नभएका ३ वटा सवारी साधनबाट १,५०० रुपैयाँ राजस्व संकलन भएको छ। यसबाहेक ओभरलोड वा मानिस र सामान सँगै राखेर चलाउने २ वटा सवारी साधनबाट २,००० रुपैयाँ, सिट बेल्ट नबाँधेको वा सिट सुरक्षित नराखेको कसुरमा १ जनाबाट १,००० रुपैयाँ, बिना हेल्मेट सवारी चलाउने १ जनाबाट ५०० रुपैयाँ र नम्बर प्लेट स्पष्ट नभएका १ वटा सवारी साधनबाट ५०० रुपैयाँ राज्वश सकंलन भएको छ ।