बुधबार, ७ असोज, २०८३ (1789755300)
शनिबार असोज ३, २०८३

सोलुखुम्बुका १७ वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न

  सोलुखुम्बु : सोलुखुम्बुका १७ वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।   नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन अन्तर्गत शनिवारदेखि सुरु भएको देशव्यापी वडा अधिवेशनका क्रममा सोलुखुम्बु जिल्लाका १७ वटा वडामा अधिवेशन भएको हो  ।   नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सचिव युवराज घिमिरेका अनुसार महाकुलुङ गाउँपालिकामा रहेका पाँच वडामध्ये वडा नम्बर चार र पाँचमा अधिवेशन भएको छ । त्यसैगरी, ११ वटा वडा रहेको सोलुदुधकुण्ड नगरपालिकाका आठ वटा वडामा अधिवेशन सकिएको छ भने बाँकी चार वडामा आइतबार अधिवेशन हुनेछ ।
   पाँच वटा वडा रहेको नेचासल्यान गाउँपालिकाको वडा नम्बर एकमा शनिवार नै अधिवेशन भएको छ । यस्तै, थुलुङ दुधकोसी गाउँपालिकाका वडा नम्बर १, ३, ६, ७ र ८ मा अधिवेशन आज भएको छ भने सात वटा वडा रहेको माप्यदुधकोसी गाउँपालिकामा एक वडाको अधिवेशन सम्पन्न भएको छ । कतिपय  वडाहरुमा अधिवेशन  जारी रहेको छ ।
   जिल्लाका बाँकी रहेका खुम्बु पासाङल्हामु, लिखुपिके र सोताङ गाउँपालिकाका साथै अन्य पालिकाका बाँकी वडाहरूमा आइतबार अधिवेशन हुने सचिव घिमिरेले जानकारी दिनुभयो। केन्द्रीय तालिका अनुसार शनिवार र आइतबार देशभरका वडामा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ । यो वडा अधिवेशनले नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरू समेत चयन गर्नेछ । यसरी छानिएका क्षेत्रीय प्रतिनिधिहरूले क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् भने तिनै महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनमा भाग लिएर नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ ।