बुधबार, ७ असोज, २०८३ (1789928100)
सोमबार असोज ५, २०८३

टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते

   सोलुखुम्बुः सोलु दूधकुण्ड नगरपालिका–१० टाप्टिङका ५१ वर्षीय पासाङ शेर्पा जंगली भालुको आक्रमणबाट घाइते हुनुभएको छ। सोमबार बिहान बिहान करिब ५ः३० बजे आफ्नै घर नजिकैको बारीमा काम गरिरहेका बेला अचानक भालु आएर आक्रमण गर्दा शेर्पाको कम्मरमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
   घटनाबारे सोलु दूधकुण्ड नगरपालिका–१० का वडाध्यक्ष होमबहादुर मगरमार्फत बिहान करिब ७ः३० बजे प्रहरी चौकी केरुङ (पत्ताले) मा जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। जानकारी प्राप्त भएपछि प्रहरीले घटनास्थल र घाइतेको अवस्थाबारे आवश्यक जानकारी लिएको थियो।
   भालुको आक्रमणबाट कम्मरमा गहिरो चोट लागे पनि शेर्पाको अवस्था हाल सामान्य रहेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई मिसन अस्पताल ओखलढुङ्गा लगिएको प्रहरीले जनाएको छ।
  बारी तथा जंगल आसपासको क्षेत्रमा काम गर्ने क्रममा जंगली जनावरको आक्रमणको जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। पछिल्लो समय बस्ती नजिकै जंगली जनावर देखिन थालेपछि स्थानीयमा समेत त्रास बढेको छ।