बुधबार, ७ असोज, २०८३ (1790014500)
मंगलबार असोज ६, २०८३

   सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु

   सोलुखुम्बुः  जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया सुरु गरेको छ। निर्वाचन आयोगको निर्णयअनुसार नामावलीमा रहेका त्रुटि सच्याउने, दाबी विरोध गर्ने तथा दोहोरो नाम हटाउनेजस्ता कार्यहरू अघि बढाइएको हो।  
   कार्यालयका अनुसार नामावलीमा रहेका त्रुटी सच्याउन, झुट्टा विवरण दिई नाम समावेश गरेको भए सो विरुद्ध उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम भए एक ठाउँमा मात्र कायम गर्न तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउनका लागि असोज १२ गतेसम्मको समय सीमा तोकिएको छ। यस्ता निवेदन वा उजुरी सम्बन्धित मतदाता, निजका एकाघरका परिवारका सदस्य वा अन्य कुनै पनि व्यक्तिले आवश्यक प्रमाणसहित दर्ता गराउन सक्नेछन्।
   त्यसैगरी, परेका उजुरीका आधारमा सम्बन्धित व्यक्तिलाई प्रमाणसहित सफाईको मौका दिनका लागि असोज १३ गतेदेखि असोज १६ गतेसम्मको अवधि निर्धारण गरिएको छ। यस क्रममा कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग गर्न सक्ने प्रावधान राखिएको छ।
 अद्यावधिक कार्यका अतिरिक्त जिल्ला निर्वाचन कार्यालय, सोलुखुम्बुमा नयाँ मतदाता नामावली दर्ताको कार्य पनि निरन्तर भइरहेको छ। नागरिकहरूले आयोगको आधिकारिक वेबसाइट मार्फत नामावली हेर्न तथा अनलाइन प्रणाली प्रयोग गरी विवरण सच्याउन, दोहोरो नाम हटाउन र ठाउँसारीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। साथै, मृत मतदाताको नाम हटाउनका लागि वडा कार्यालय वा सिधै निर्वाचन कार्यालयमा आवश्यक कागजातसहित उपस्थित भई वा प्रविधिमार्फत निवेदन दिन सकिनेछ।