बुधबार, ७ असोज, २०८३ (1788804900)
मंगलबार भदौ २३, २०८३

  माप्य दुधकोशीमा गाउँपालिका स्तरीय खुल्ला महिला तथा पुरुष ब्याडमिन्टन डबल्स प्रतियोगिता हुने 

     सोलुखुम्बुः   माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा आगामी मंसिर १९ गतेदेखि २१ गतेसम्म गाउँपालिका स्तरीय खुल्ला महिला तथा पुरुष ब्याडमिन्टन डबल्स प्रतियोगिता सञ्चालन हुने भएको छ । निर्माणाधीन कोर्कु रङ्गशालामा आयोजना हुने प्रतियोगितामा इच्छुक खेलाडीले निःशुल्क रूपमा टोली दर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ।
   प्रतियोगितामा खुल्ला पुरुष डबल्स र खुल्ला महिला डबल्स ब्याडमिन्टन गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम हुने टोलीले १६ हजार रुपैयाँ, द्वितीय हुने टोलीले १३ हजार ३ सय ३३ रुपैयाँ तथा तृतीय स्थान हासिल गर्ने दुई टोलीले जनही ५ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन्। पुरस्कार रकममा प्रचलित कानुनअनुसार कर कट्टी गरिनेछ।
   प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले मंसिर १८ गते कार्यालय समयभित्र नागरिकता, जन्मदर्ता वा राहदानीमध्ये कुनै एक आधिकारिक परिचयपत्र पेश गरी टोली दर्ता गराउनुपर्नेछ। प्रतियोगिता बीडब्लुएफ र एनभीएको नियमअनुसार सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
   खेलाडीले प्रतियोगिताभर अनिवार्य रूपमा खेल पोसाक प्रयोग गर्नुपर्नेछ। जर्सीको पछाडिको भागमा ६ देखि १० सेन्टिमिटर फन्ट साइजमा खेलाडीको नाम स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ। साथै, खेल सुरु हुनुभन्दा कम्तीमा १५ मिनेटअघि अफिसियल डेस्कमा सम्पर्क नगर्ने खेलाडीलाई रेफ्रीको निर्देशनअनुसार खेलमा सहभागी नगराइने व्यवस्था गरिएको छ।
   प्रतियोगिताका क्रममा कुनै विवाद उत्पन्न भएमा निर्णायक तथा आयोजकको निर्णय अन्तिम मानिनेछ। खेल अवधिमा प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्ने भए पनि कुनै अप्रत्याशित घटना वा दुर्घटना भएमा आयोजक जिम्मेवार नहुने गाउँपालिकाले स्पष्ट पारेको छ।