बुधबार, ७ असोज, २०८३ (1789928100)
सोमबार असोज ५, २०८३

 सोलुखुम्बुमा काठ निकासी घट्दा राजस्व सङ्कलनमा वृद्धि

    सोलुखुम्बु ः  सोलुखुम्बुका निजी जग्गाबाट हुने काठ निकासिको परिमाणमा कमी आए पनि सरकारी राजस्व सङ्कलनमा भने उल्लेखनीय वृद्धि भएको छ। डिभिजन वन कार्यालय सोलुखुम्बुको पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार काठको परिमाण घटे पनि राजस्व भने बढेको देखिएको हो।  
   कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका निजी जग्गाबाट कुल १२ लाख ९५ हजार ६ सय १८ दशमलव ९४ क्युबिक फिट काठ निकासी भएको थियो। उक्त समयमा निकासी गरिएका काठबाट मूल्य अभिवृद्धि कर (मू.अ.कर) बापत १२ लाख ९५ हजार ६ सय १८ रुपैयाँ ९४ पैसा र प्रदेश सेवा शुल्क बापत १२ लाख ९५ हजार ६ सय १८ रुपैयाँ ९४ पैसा गरी कुल २५ लाख ९१ हजार २ सय ३७ रुपैयाँ ८८ पैसा राजस्व संकलन भएको थियो।  
  त्यस्तै, आर्थिक वर्ष २०८२÷०८३ मा भने काठ निकासीको परिमाण १ लाख ६२ हजार ४ सय ६३ दशमलव ९४ क्युबिक फिटले घटेर ११ लाख ३३ हजार १ सय ५५ क्युबिक फिटमा सीमित भएको छ। तर निकासी परिमाण घटे पनि सो अवधिमा मूल्य अभिवृद्धि कर (मू.अ.कर) बापत २९ लाख ९७ हजार ८ सय ६१ रुपैयाँ र प्रदेश सेवा शुल्क बापत ५७ लाख ७० हजार ३८ रुपैयाँ ९० पैसा गरी कुल ८७ लाख ६७ हजार ८ सय ९९ रुपैयाँ ९० पैसा राजस्व संकलन भएको छ।  
   अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा काठ निकासी परिमाणमा केही कमी आए तापनि राजस्व सङ्कलनमा भने ६१ लाख ७६ हजार ६ सय ६२ रुपैयाँ २ पैसाले वृद्धि भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बुका निजी जग्गाबाट मुख्य गरी उत्तिस, गोब्रे सल्ला, पाटे सल्ला, ठिङ्गे सल्ला, चिलाउने, मलातो र मौवा लगायतका प्रजातिका काठहरू निकासी हुँदै आएका छन्।