बुधबार, ७ असोज, २०८३ (1789841700)
आइतबार असोज ४, २०८३

 भदौमा मात्र १ हजारभन्दा बढि पर्यटक सगरमाथा क्षेत्र पुगे

   सोलुखुम्बुः चालु आर्थिक वर्ष २०८२÷८३ को साउन महिनाको तुलनामा भदौ महिनामा सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक अनुसार साउन महिनाको तुलनामा भदौ महिनामा कुल ८४१ जना पर्यटक वृद्धि भएका हुन्। साउन महिनामा कुल २६३ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेकोमा भदौ महिनामा यो संख्या बढेर १ हजार १०४ पुगेको छ ।
   निकुञ्जका सूचना अधिकारी विवेक बैजुका अनुसार पर्यटक आगमनमा आएको सुधारसँगै राजस्व संकलनमा वृद्धि भएको छ। निकुञ्जको नियमानुसार प्रवेश शुल्क बापत विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ, सार्क राष्ट्रका पर्यटकबाट १ हजार ५०० रुपैयाँ र नेपाली नागरिकबाट १०० रुपैयाँ (भ्याट बाहेक÷समावेश नियमानुसार) लिने गरिन्छ। 
   साउन महिनामा विदेशी १२८ जना, सार्क देशका ३५ जना र नेपाली १०० जना पर्यटक भित्रिँदा करिब ४ लाख ४६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएकोमा भदौ महिनामा विदेशी ८७९ जना, सार्कका ९५ जना र नेपाली १३० जना पुग्दा कुल राजस्व संकलन बढेर करिब २७ लाख रुपैयाँ पुगेको छ। साउनमा १२८ जना रहेका विदेशी पर्यटक भदौमा ७५१ ले बढेर ८७९ पुगेका छन् भने सार्क पर्यटक ६० ले बढेर ९५ र नेपाली पर्यटक ३० ले बढेर १३० पुगेका हुन्।
    सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौंबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।
   वि.सं. २०३२ मा स्थापना भई १ हजार १४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सगरमाथा राष्ट्रिय निकुञ्ज १८०० मिटरदेखि ८ हजार ८४८.८६ मिटरसम्मको उचाइमा अवस्थित छ। यस निकुञ्जभित्र विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै ६ हजार मिटरभन्दा अग्ला लोत्से, नुप्से, चोयु, लोत्से सार, पुमोरी, आमादब्लम, र थामसेरकु जस्ता हिमचुचुराहरू रहेका छन्। 
   प्राकृतिक दृष्टिले अत्यन्त धनी यस क्षेत्रको गोक्यो र सम्बद्ध तालहरूलाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो भने सन् १९७९ मा नै यो निकुञ्ज युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छ। यहाँ कस्तुरी मृग, हिमालयन थार, घोरल, लंगुर बाँदरका साथै डाँफे, मुनाल, तिब्बेतन स्नो कक जस्ता अनेकौँ दुर्लभ वन्यजन्तु तथा पंक्षीहरू पाइन्छन्। सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तु अवलोकन र साहसिक पर्यटनका लागि विश्वभरका पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिनुभयो।