रसुवा बाढीको धक्का सगरमाथा क्षेत्रमाः पर्यटकीय सिजनको मुखैमा नाम्चेका होटल व्यवसायी चिन्तित
सोलुखुम्बुः गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पु¥याएको क्षतिको असर अब देशव्यापी रूपमा देखिन थालेको छ । विपत्तिमा परी जनधनको ठूलो क्षति हुनुका साथै स्वदेशी तथा विदेशी पर्यटकहरूसमेत बेपत्ता भएको खबर सार्वजनिक भएसँगै, मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा खुम्बु (सगरमाथा) क्षेत्रको पर्यटन र होटल व्यवसाय प्रत्यक्ष प्रभावित हुने चिन्ता बढेको हो । रसुवामा आएको बाढीले सोझै हिमाली पर्यटनको केन्द्र मानिने खुम्बु र आसपासका क्षेत्रसम्म त्रासको वातावरण सिर्जना गरिदिएको होटल व्यवसाहीहरु बताउँछन् ।
खुम्बु क्षेत्रको स्थलगत अवस्था र पर्यटनमा परेको असरबारे नाम्चेका स्थानीय होटल व्यवसायीहरूसँग गरिएको कुराकानीमा उनीहरूले आगामी सिजनलाई लिएर निकै अन्योल र चिन्ता व्यक्त गरेका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाका अनुसार मुख्य पर्यटकीय सिजन नजिकिँदै गर्दा सगरमाथा क्षेत्रमा अग्रिम होटल बुकिङ आउने क्रम जारी रहे पनि अघिल्लो पर्यटकीय सिजनको तुलनामा घट्दो क्रममा रहेको छ। पछिल्लो समय हिमाली क्षेत्रमा आधुनिक सुविधा सम्पन्न होटलहरूको निर्माण तथा स्तरोन्नतिमा ठूलो लगानी भएको छ। यस्तो अवस्थामा पर्यटक आगमन घट्दा व्यवसायीहरूलाई दैनिक सञ्चालन खर्च धान्न, बैंकको किस्ता तिर्न र आफ्ना कर्मचारीहरूलाई निरन्तर रोजगारी दिनसमेत गम्भीर संकट पर्ने अध्यक्ष शेर्पाको भनाइ छ।
यद्यपि, भौगोलिक हिसाबले रसुवा र सगरमाथा क्षेत्र निकै टाढा रहेकाले उक्त घटनाको प्रत्यक्ष असर सगरमाथा भ्रमणमा नपर्ने अध्यक्ष शेर्पाले प्रस्ट पार्नुभएको छ। उहाँका अनुसार रसुवाको घटनाले क्षणिक अन्योल सिर्जना गरे पनि होटल व्यवसायीहरू पर्यटकलाई स्वागत गर्न तयार भइरहेका अध्यक्ष शेर्पाले बताउनुभयो ।
अर्का स्थानीय होटल व्यवसायी ईश्वरराज तामाङले सञ्चारमाध्यममा माथिल्लो भोटेकोशी बाढीको खबर आएलगत्तै सगरमाथा क्षेत्रका हिमनदी तथा हिमतालको जोखिमबारे समाचारहरू सम्प्रेषण भएपछि विदेशी पर्यटकहरूमा त्रास फैलिएको बताउनुभयो। मिडियामा आएका यस्ता खबरहरूका कारण पहिले नै भइसकेका अग्रिम बुकिङहरू रद्द हुने दर डरलाग्दो रूपमा बढेको उल्लेख गर्दै उहाँले नाम्चेका होटल व्यवसायीहरू शतप्रतिशत आर्थिक मारमा परेको जानकारी दिनुभयो। व्यापार होस् या नहोस्, होटलमा कार्यरत कर्मचारीहरूलाई पूरा तलब दिनुपर्ने बाध्यता रहेकाले व्यवसायीहरू यतिबेला ठूलो आर्थिक दबाबमा परेका छन्।
तथापि, प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा पनि नाम्चेका पर्यटन व्यवसायीहरूमाझ पूर्ण रूपमा निराशा भने छाएको छैन। नाम्चेकै अर्का व्यवसायी गोपाल थापा मगरले प्राकृतिक विपत्तिका बाबजुद धेरै विदेशी पर्यटकहरूमा नेपालप्रति सहानुभूति र सद्भाव देखिएको सकारात्मक पक्ष औंल्याउनुभएको छ । सोलु एफएमसँगको कुराकानीमा उहाँले धेरै विदेशीहरूले विपत्ति प्रभावित क्षेत्रको अवलोकन गर्दै सहयोग गर्ने मनसाय व्यक्त गरेको र बाढीकै कारण मात्र सगरमाथा क्षेत्रको पर्यटन पूर्ण रूपमा ठप्प नहुने आशावादी प्रतिक्रिया दिनुभयो। प्राकृतिक विपत्तिलाई पन्छाउँदै खुम्बु क्षेत्रको पर्यटन व्यवसाय छिट्टै पुरानै लयमा फर्किनेमा उहाँ विश्वास व्यक्त गर्नुहुन्छ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते


2026-08-24-07-38-54.jpeg)
2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

