बिहीबार, ४ मङ्सिर, २०८३ (1623608100)
सोमबार जेठ ३१, २०७८

फाप्लु सामुदायिक विद्यालयले गरे प्रविधिको भरपुर उपभोग, अनलाईनबाटै पठनपाठन

सोलुखुम्बु : फाप्लु सामुदायिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका–४ ले जिल्लामै पहिलो पटक अनलाईन विधिबाट पठनपाठनलाई निरन्तरता दिएको छ । कोरोनाका कारण जिल्लाका अधिकांश विद्यालयको पठनपाठन ठप्प हुँदा फाप्लु सामुदायिकले भने जुम मार्फत कक्षालाई निरन्तरता दिएको हो ।

कोरोना संक्रमण जोखिमका कारण भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्न नसकिएकाले आफुहरुले कक्षा ७ देखि १२ सम्मको पठनपाठनलाई वैकल्पिक विधि मार्फत निरन्तरता दिएको प्रधानाध्यापक ल्हाक्पा रिञ्जी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत जेठ १६ गतेबाट विभिन्न सिफ्ट मार्फत कक्षा सञ्चालन गरिएको छ । अनलाईन कक्षामा एक सिफ्टमा १२ जना राखेर पठनपाठन भईरहेको उक्त कक्षामा कुल विद्यार्थीको करिब ५० प्रतिशत सामेल रहेको विद्यालयले जनाएको छ ।

विद्यालयले प्रविधिको भरपुर उपयोग गरि सुरु गरेको कक्षामा विद्यार्थीले भौतिक उपस्थितीमा सिकेको जस्तै बुझिरहेको कक्षा ९ मा अध्यरत छात्रा कान्छी माया लामाले बताउँनुभयो । अधिकांश विद्यार्थीहरु विद्यालय बन्द हुँदा त्यतिकै घरमा बसेपनि आफ्ना छोराछोरीले नियमित रुपमा शिक्षा लिन पाएको भन्दै अभिभावक बल बहादुर कार्कीले खुसी व्यक्त गर्नुभयो ।

यद्यपी कतिपय विद्यार्थीहरु इन्टरनेटको पहुँच नभएको स्थानमा रहेकाले पठन पाठनमा समस्या भएपछि अभ्यासको रुपमा सुरु गरिएको जुम कक्षा विद्यार्थीका लागि उपयोगी रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले बताउँनुभयो ।

आफुहरुले भविष्यमा मासिक एक दिन अनलाईनबाटै कक्षा सञ्चालन गर्ने मनशायका साथ कक्षा सुरु गरेको अध्यक्ष शेर्पाको भनाई छ । प्रविधिसँग नजिक भएर सुरु गरिएको पठन पाठन जिल्लामै पहिलो भएको विद्यालयको दावी छ ।